व्यवस्था 28:3-6, 8, 12-13 NNRV
“ तिमीहरूले सहरमा आशिष् पाउनेछौ, र गाउँ-बस्तीमा आशिष् पाउनेछौ। तिमीहरूका सन्तानमाथि आशिष् पर्नेछ, साथै खेतका उब्जनीमाथि, गाईबस्तुका बाछा-बाछीमाथि, भेड़ाबाख्राका पाठापाठीमाथि। तिमीहरूको डालो र तिमीहरूको पीठो मुछ्ने आरीमा आशिष् पर्नेछ। भित्र आउँदा र बाहिर जाँदा तिमीहरूले आशिष् पाउनेछौ।
परमप्रभुले तिमीहरूको ढुकुटीमा र तिमीहरूका सबै काममा आशिष् दिनुहुनेछ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देशमा उहाँले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
परमप्रभुले आकाश, आफ्नो प्रशस्तताको भण्डार उघारेर तिमीहरूको भूमिमा ठीक ऋतुमा झरी पठाउनुहुनेछ, र तिमीहरूका हातका सबै मेहनतमा आशिष् दिनुहुनेछ। तिमीहरूले धेरै जातिलाई ऋण दिनेछौ, तर कसैबाट ऋण लिनेछैनौ। मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ।”
भजनसंग्रह 20:4 NNRV
“उहाँले तपाईंको मनोरथ पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गराऊन्।”
भजनसंग्रह 23:1-4 NNRV
“परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्।”
यर्मिया 17:7-8 NNRV
““तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ। त्यो पानीको किनारमा रोपेको रूखजस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारसम्म फिँजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खड़ेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन, र त्यसले फल फलाउन कहिल्यै चुक्दैन।””
यर्मिया 29:11 NNRV
“किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।”
हिब्रू 13:20-21 NNRV
“अब भेड़ाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानयुग भइरहोस्। आमेन।”
गन्ती 6:24-26 NNRV
“परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्ति देऊन्।’”
फिलिप्पी 4:4-7 NNRV
“प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर। तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ। कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।”
फिलिप्पी 4:19 NNRV
“मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।”
३ यूहन्ना 1:2 NNRV
“प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु।”
२ कोरिन्थी 9:8 NNRV
“परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक।”
२ कोरिन्थी 13:11-12, 14 NNRV
सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर।
प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्।”